Banijya News

कर बक्यौताको विवरण देखिएपछि नियमित सम्मानबाट हट्यो भाटभटेनी

1
1.0K Shares

कर बक्यौताको विवरण प्रणालीमा देखिएपछि भाटभटेनी सुपरमार्केट यस वर्ष सरकारको नियमित उत्कृष्ट करदाता सम्मानको सूचीबाट हटाइएको खुलेको छ। आन्तरिक राजस्व विभागले करसम्बन्धी विवरण अध्ययन गर्ने क्रममा कम्पनीको नाममा बक्यौता देखिएपछि विवाद हुन सक्ने भन्दै नियमित सम्मान सूचीमा नराखेको हो।

उच्च स्रोतका अनुसार ‘वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने’ विधामा भाटभटेनी सम्मानित हुने सम्भावना सबैभन्दा बढी थियो। तर विभागको प्रणालीमा कर बक्यौता देखिएपछि कम्पनीलाई उक्त विधाबाट हटाइएको स्रोतको भनाइ छ।

स्रोतले विभागको प्रणालीमा बक्यौता देखिएकै कारण भाटभटेनीलाई नियमित विधामा सम्मान दिन नसकिएको जनाएको छ। उक्त विधामा भाटभटेनीबाहेक अन्य कम्पनीले सम्मान पाउने सम्भावना नरहेको पनि स्रोतको दाबी छ।

नियमित सम्मान सूचीबाट आफ्नो कम्पनी हटाइएको जानकारी पाएपछि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले असन्तुष्टि व्यक्त गरेका थिए। उनको गुनासो अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्च अधिकारीसम्म पुगेपछि सरकारले अन्तिम समयमा छुट्टै विधा थपेर कम्पनीलाई सम्मान गरेको स्रोतको भनाइ छ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीले ठूलो आर्थिक क्षति व्यहोरेको विषयलाई आधार बनाएर ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ शीर्षकमा सम्मान प्रदान गरिएको थियो। आन्दोलनका क्रममा भएको क्षति २०८२ भदौमा भए पनि सम्मान भने आर्थिक वर्ष २०८१/८२ को कर योगदानका आधारमा प्रदान गरिएको हो।

यता, भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले भने कम्पनीको कुनै पनि कर बक्यौता नरहेको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागको कर प्रणाली स्तरोन्नति गर्ने क्रममा देखिएको प्राविधिक समस्याका कारण कम्पनीको नाममा बक्यौता देखिएको उनको भनाइ छ।

पुरानो प्रणालीको तथ्याङ्कले व्यवसायीलाई समस्या

आन्तरिक राजस्व विभागको कर प्रणालीमा देखिएको यस्तो समस्या भाटभटेनीमा मात्र सीमित छैन। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा तथ्याङ्क स्थानान्तरण गर्दा विवरण नमिलेपछि ठूला व्यवसायीसमेत समस्यामा परेको पाइएको छ।

विभागले आर्थिक वर्ष २०६८/६९ सम्म ‘प्रोट्याक्ट’ प्रणाली प्रयोग गरेको थियो। आर्थिक वर्ष २०६९/७० देखि एकीकृत कर प्रणाली (आईटीएस) लागू गरिएको थियो। त्यसपछि पुराना छुट्टाछुट्टै प्रणाली विस्थापित गर्दै एकीकृत कर प्रणाली र आधुनिक करदाता पोर्टलमार्फत सेवा सञ्चालन हुँदै आएको छ।

प्रणाली परिवर्तनका क्रममा पुराना विवरण नयाँ प्रणालीमा सार्दा कतिपय तथ्याङ्क नमिलेको भन्दै व्यवसायी र कर प्रशासनबीच विवाद हुने गरेको छ।

ठूला करदाता कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्यले पनि यस्तो समस्या रहेको स्वीकार गरेका छन्। उनका अनुसार व्यवसायीले आफूहरूको कर बक्यौता नरहेको दाबी गरे पनि सरकारी प्रणालीमा भने बक्यौता देखिने गरेको छ। कार्यालयले समस्या समाधानका लागि प्रयास गरिरहेको उनले बताएका छन्।

आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार कतिपय अवस्थामा बक्यौता पुष्टि गर्ने पर्याप्त कागजातसमेत उपलब्ध नहुँदा समस्या थप जटिल बनेको छ। भाटभटेनीको सम्मान प्रकरणसँगै कर प्रशासनको तथ्याङ्क व्यवस्थापन र प्रणालीको विश्वसनीयतामाथि पुनः प्रश्न उठेको छ।

1

Scroll to Top