नेप्से परिसूचक आज मंगलबार बढेर बन्द भएको छ । हिजो सोमबार सामान्य अंक बढेको नेप्से परिसूचक आज १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंक बढेको छ ।
१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ । त्यस्तै, आज विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ । कारोबारमा आएको लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो सोमबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ । त्यसैगरी, मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १६.८४२१ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । त्यस्तै, ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।


