Banijya News

राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड नयाँ सिक्का छाप्ने

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने भएको छ । यसका लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीको काम गर्न अन्तर्राष्ट्रिय कम्पनीसँग शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार बोलपत्र प्रक्रियामा पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । इच्छुक कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बोलपत्रसम्बन्धी कागजात खरिद गर्न कम्पनीहरूले २० हजार रुपैयाँ वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा तिर्नुपर्नेछ । कागजात खरिद गर्ने अन्तिम म्याद डिसेम्बर २८ तोकिएको छ । बोलपत्र प्रक्रियाबारे जानकारी दिन राष्ट्र बैंकले डिसेम्बर ११ मा थापाथलीस्थित कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ ।

बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म रहेको छ । प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले कम्तीमा एक लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी पेस गर्नुपर्नेछ । यस्तो धरौटी बोलपत्र पेस गरेको मितिबाट १५० दिनसम्म मान्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

1

Scroll to Top