Banijya News

लक्ष्मी सनराइज बैंकको नाफामा ४१ प्रतिशतले बढ्यो

1
1.1K Shares

आर्थिक वर्ष २०८१/८२ मा लक्ष्मी सनराइज बैंक लिमिटेडले नाफामा उल्लेखनीय उचाल ल्याउँदै ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ९२ करोड रुपैयाँको तुलनामा ४०.९७ प्रतिशत वृद्धि हो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोडबाट घटेर ११ अर्ब ३७ करोड रुपैयाँमा सीमित रह्यो, जसमा ७.९९ प्रतिशतको गिरावट देखियो।
तर, शुल्क तथा कमिसन आम्दानी भने १० प्रतिशत बढेर २ अर्ब १८ करोड ८६ लाख रुपैयाँमा पुगेको छ।

कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटे पनि सञ्चालन नाफा भने ३८.५५ प्रतिशतको वृद्धि हुँदै ६ अर्ब ९ करोड रुपैयाँमा पुगेको छ।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा लाभांश वितरण क्षमता १२.३४ प्रतिशत रहेको बैंकले जनाएको छ।
अघिल्लो वर्ष वितरणयोग्य नाफा १ अर्ब २४ करोड रुपैयाँ मात्र थियो, जसले यसपटकको क्षमतामा सुधार आएको देखाउँछ।

बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। जगेडा कोषमा १८ अर्ब ८ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म निक्षेप ११.५९ प्रतिशत बढ्दै ३ खर्ब ६७ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी ११.१७ प्रतिशत बढेर २ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको छ।
बैंकको सीडी रेसियो ७७.१५ प्रतिशत छ, जुन अघिल्लो वर्षको ८१ प्रतिशतभन्दा कम हो।

प्रतिसेयर आम्दानी (EPS) १२ रुपैयाँबाट बढेर १६.९१ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ भने मूल्य–आम्दानी अनुपात १४.१३ गुणा रहेको छ। खराब कर्जा अघिल्लो वर्षको ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ, जसले परिसम्पत्ति गुणस्तरमा आंशिक सुधार संकेत गर्दछ।

1

Scroll to Top