वाणिज्य बैंकहरुले एक बर्षमा सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर तिरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरूले बुझाएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २३.५६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूले सरकारलाई २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर तिरेका थिए।
गएको आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीहरूमा कुमारी बैंक नम्बर वानमा परेको छ। गत आर्थिक वर्षमा बैंकले सरकारलाई ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६८.५८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर तिरेको थियो ।
कुमारीपछि धेरै आयकर तिर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर तिरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ आयकर तिरेको थियो ।
२ अर्ब रुपैयाँभन्दा माथि आयकर तिर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई र एभरेष्टले पनि २ अर्ब रुपैयाँभन्दा धेरै आयकर तिरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ आयकर तिर्दा ग्लोबल आईएमई बैंकले २ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ आयकर तिरेको हो ।
त्यस्तै सिटिजन्स बैंकले ५४ करोड ५१ लाख रुपैयाँ आयकर तिर्दा हिमालयन बैंकले ५७ करोड ३८ लाख रुपैयाँ आयकर तिरेको छ । प्रभु बैंकले गत आवमा ८६ करोड २४ लाख रुपैयाँ आयकर तिरेको छ । सिद्धार्थ बैंकले १ अर्ब ६४ करोड, राष्टिय वाणिज्य बैंकले १ अर्ब ६३ करोड, स्टान्र्डड चार्टड बैंकले १ अर्ब ५२ करोड, एनएमबि बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले ९८ करोड ७९ लाख, नेपाल एसबिआई बैंकले ९० करोड ७४ लाख र माछापुच्छ्रे बैंकले ८९ करोड २८ लाख रुपैयाँ बुझाएका छन् ।
सबैभन्दा कम आयकर तिर्ने वाणिज्य बैंक एनआईसी एशिया रहेको छ । बैंकले ५ करोड ५१ लाख ५२ हजार रुपैयाँमात्र आयकर तिरेको छ ।


