०५ फागुन, काठमाण्डौ ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला (डोमेस्टीक टुरिज्म मार्ट) आगामी वर्षको जेठ १६ र १७ गते (सन् २०२० मे २९ र ३० तारिख) मा हुने भएको छ । यसअघि नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आयोजना गर्ने भनिएको सो मेला सरेर जेठमा पुगेको हो ।
मेलाको तयारी यहीँ फागुन ९ र १० गते गरीएतापनि छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी पूर्व्िनर्धारित सो कार्यक्रम स्थगित गर्नुपरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मेलामा पर्यटन व्यवसायसँग सम्बन्धित १५० भन्दा बढी व्यावसायिक कक्ष (स्टल) रहने बताइएको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने मेलामा ७७ जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिको प्रदर्शन गरिने मेला आयोजककोे दावि छ ।
मेलामा पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामग्रीका साथै काठमाडौँ र मोफसलका होटल तथा रेष्टुरेन्ट, सातवटै प्रदेशको विभिन्न स्वादका परिकार, होमस्टे, सञ्चारलगायतको एकै ठाँउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


