Banijya News

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट अनलाइन सपिङ अब थप सुरक्षित, ‘थ्रीडी सेक्युर’ सेवा सुरु

1
1.0K Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा ई-कमर्स कारोबारलाई थप सुरक्षित बनाउन ‘थ्रीडी सेक्युर एशिएस’ (एक्सेस कन्ट्रोल सर्भर) सेवा सञ्चालनमा ल्याएको छ। यस नवीन प्रविधिको सुरुवातसँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले अनलाइन सामान खरिद गर्दा वा भुक्तानी गर्दा उच्च डिजिटल सुरक्षा प्राप्त गर्ने भएका छन्।

यो नयाँ सुरक्षा प्रणालीले अनलाइन कारोबारका क्रममा ग्राहकको पहिचान प्रमाणीकरण गर्नुका साथै एकपटक मात्र प्रयोग हुने उपयोगी सुरक्षा कोड अर्थात् ओटीपी (वन टाइम पासवर्ड) मार्फत भुक्तानीलाई सुरक्षित बनाउँछ। बैंकका अनुसार कार्डधारकहरूले यो सुविधा प्रयोग गर्नका लागि आफ्नो कार्डमा एकपटक उक्त फिचर सक्रिय (इनेबल) गराउनुपर्नेछ। डिजिटल बैंकिङ र अनलाइन भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको यस कदमले साइबर जोखिम न्यूनीकरण गर्दै ग्राहकलाई डिजिटल भुक्तानीतर्फ थप आकर्षित गर्ने विश्वास लिइएको छ।

एनसीएचएलले आफ्नो राष्ट्रिय भुक्तानी प्रणाली (एनसीएचएल-ईएफटी) अन्तर्गत एशिएस सेवाका अतिरिक्त कार्ड जारी गर्ने, कारोबारको व्यवस्थापन, प्रशोधन तथा फर्छ्यौट, ई-कमर्स भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) लगायतका कार्डसम्बन्धी विभिन्न सेवाहरू सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराउँदै आएको छ। हाल राष्ट्रिय वाणिज्य बैंकसहित एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंक लगायतका वित्तीय संस्थाहरूमा यो सुरक्षित ई-कमर्स कारोबार प्रणाली लागू भइसकेको छ।

1

Scroll to Top