१४ फागुन, काठमाण्डौ ।
नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलबार एक कार्यक्रम गरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्का बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्का बीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन् ।
समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।
एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवदर्द्धनका क्रियाकलापमा सहभागी हुनेछन्।


