ललितपुर महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । हाल फोहोरमैला व्यवस्थापनबारे भारतको विभिन्न स्थानको अवलोकन तथा भ्रमणमा रहनुभएका मेयर चिरिबाबु महर्जनले महानगरको तर्फबाट ५० लाख रुपैयाँ भूकम्प प्रभावितहरूको लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
गत आइतबार ललितपुर महानगरको ४३औँ कार्यपालिका बैठकमा भूकम्पपीडित परिवारको लागि सहायता गर्ने निर्णय भएको थियो । बैठकमा मेयर महर्जनको उपस्थिति नरहे पनि मेयर महर्जनले राहत रकम छुट्याउन उपमेयर मञ्जली शाक्य र अन्य कार्यपालिका सदस्यलाई अनुमति दिनुएको हो ।
काठमाडौं महानगरपालिकाले भूकम्पपीडितका लागि सोमबार नेपाली सेनाको विमानमार्फत महानगरले १४ लाख रुपैयाँको एक हजार चार सय थान कम्बल पठाएको छ । महानगरले सोमबार पठाइएको राहत पहिलो प्याकेजअन्तर्गत रहेको र थप अर्को प्याकेजमा राहत पठाइने जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले यसबाहेक अन्य प्राविधिक तथा इन्जिनियरिङ सहयोग चाहिनेमा पनि महानगरले सहयोग गर्ने बताएका छन् । काठमाडौंकै चन्द्रागिरि नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका लागि आठ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।


