भारतको चर्चित हास्य पुस्तक शृङ्खला ‘अमर चित्र कथा’ सन् १९६७ मा सुरु हुँदा यसको उद्देश्य सरल थियो। बालबालिकालाई हिन्दू देवताहरू, पौराणिक कथा र भारतीय इतिहासको विशाल संसारसँग परिचित गराउनु। करिब छ दशक बितिसक्दा पनि, स्मार्टफोन र स्ट्रिमिङ टेलिभिजनले प्रभुत्व जमाएको युगमा समेत अमर चित्र कथाले आफ्नो स्थान कायम राख्न सफल भएको छ।
ए. सि. के. नामले परिचित अमर चित्र कथाको स्थापना कथाकार अनन्त पाईले गरेका थिए। एक क्विज कार्यक्रममा बालबालिकालाई आफ्नै पौराणिक पात्रभन्दा ग्रिक देवताहरूको जानकारी बढी भएको देखेपछि उनले यो शृङ्खला सुरु गरेका थिए। चाँडै नै यसले सांस्कृतिक पहिचानको रूप लियो। हिन्दू देवताका कथादेखि स्वतन्त्रता सेनानीहरूको जीवनीसम्म समेटिएका यसका शीर्षकहरू लाखौँ प्रति बिक्री भए र विभिन्न क्षेत्रीय भाषामा अनुवाद गरिए।
तर यो यात्रामा चुनौती पनि कम आएनन्। भारतमा कार्टुन नेटवर्कको आगमन र महाभारतको लोकप्रिय टेलिभिजन रूपान्तरणले एक समय बिक्री घटायो। गत वर्ष मुम्बईस्थित गोदाममा लागेको आगलागीले कम्पनीका बहुमूल्य अभिलेखको केही अंश नष्ट गर्यो। यति हुँदाहुँदै पनि प्रकाशन निरन्तर अघि बढिरहेको छ। यसको श्रेय केवल बालपाठकलाई मात्र होइन, बाल्यकालमै अमर चित्र कथा पढेर हुर्केका वयस्क पाठकलाई पनि जान्छ।
कार्यकारी सम्पादक रीना आई पुरीका अनुसार अमर चित्र कथाका सबैभन्दा धेरै पाठक २५ देखि ४५ वर्ष उमेर समूहका छन्। ‘यिनै पाठकहरू अमर चित्र कथा पढेर हुर्किएका हुन् र अहिले आफ्ना बालबालिकालाई पनि पढ्न दिन्छन्’, उनले भनिन् । पाठकहरूमा बालबालिकाको आकर्षण पनि उस्तै छ। १३ वर्षीया आरव वेधनयगमले भारतीय वायु सेनाका पाइलटसम्बन्धी कथा आफूलाई मनपर्ने बताइन्। ‘कथालाई चित्रसँग जोडेर प्रस्तुत गर्ने शैली मन पर्छ’, उनले भनिन्, ‘सानो बच्चादेखि हजुरबुबासम्म सबैका लागि उपयुक्त छ।’
समयसँगै चित्र र प्रस्तुति शैलीमा पनि परिवर्तन आएको छ। पहिलेका राम र शिवका चित्रहरूभन्दा अहिलेका पात्रहरू शारीरिक रूपमा सबल देखिन्छन्। पुरीका अनुसार आजका बालबालिका पुरानो चित्रशैलीमा अभ्यस्त छैनन्, त्यसैले परिवर्तन आवश्यक भयो। कथावस्तुमा पनि लैङ्गिक भूमिकाको चित्रण बदलिएको छ। पहिले महिला घरायसी काममा मात्र देखाइन्थ्यो भने अहिले पढ्दै, निर्णय गर्दै र सक्रिय भूमिकामा प्रस्तुत गरिन्छ।
कोभिड–१९ महामारीले अमर चित्र कथालाई डिजिटलतर्फ अघि बढ्न प्रेरित गर्यो। एप निःशुल्क उपलब्ध गराउँदा पाठक संख्या बढ्यो र अहिले डिजिटल संस्करणबाट हुने आम्दानी प्रिन्ट बराबर पुगेको छ। तर कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमा भने प्रकाशकहरू सावधान छन्। ‘कलाकार र लेखकको श्रमको सम्मान हुनुपर्छ’, पुरीको भनाइ छ। युवा कमिक डिजाइनरहरू पनि मानव निर्मित प्रक्रियाले सामग्री बालबालिकाका लागि सुरक्षित हुने विश्वास व्यक्त गर्छन्।
आगामी दिनप्रति प्रकाशकहरू आशावादी छन्। संस्थापकको दर्शनअनुसार भारतका बालबालिकालाई भारतकै कथा सुनाउने उद्देश्य कहिल्यै अप्रासङ्गिक नहुने उनीहरूको विश्वास छ।


