मिस नेपाल-२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित भव्य ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जित्न सफल भएकी हुन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र व्यक्तित्वका आधारमा दीपमाला विजेता घोषित भएकी हुन्।
दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल-२०२५ को उपाधि पनि जितिसकेकी छन्। लामो समयदेखि हङकङमा बसोबास गर्दै आएकी उनले फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक अध्ययन पूरा गरेकी छन्। उनले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा समेत काम गरिसकेकी छन्। आकर्षक करियर हुँदाहुँदै पनि उनले आफ्नी आमाको अधुरो सपना पूरा गर्न उक्त जागिर त्यागेर मिस नेपाल प्रतियोगितामा सहभागी हुन नेपाल फर्किएको बताएकी छन्।
दीपमालाकी आमा सन् १९९४ को मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन्। त्यतिबेला पूरा हुन नसकेको सपना छोरीले तीन दशकपछि साकार पारेकी छन्। यही कारण दीपमालाको जितलाई व्यक्तिगत सफलता मात्र नभई एक पुस्ताको सपना पूरा भएको भावनात्मक उपलब्धिका रूपमा पनि हेरिएको छ।
सौन्दर्य प्रतियोगितामा मात्र नभई खेलकुद क्षेत्रमा पनि दीपमालाको सक्रियता उल्लेखनीय छ। उनी तेक्वान्दो खेलाडी हुनुका साथै म्याराथन धावक पनि हुन्। अनुशासन, आत्मविश्वास र मेहनतले उनलाई मिस नेपालको ताजसम्म पुर्याएको आयोजकहरूले बताएका छन्।
यस वर्षको प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल–२०२६ घोषित भएकी छन् भने कोसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितेकी छन्।
यसपटकको मिस नेपाल प्रतियोगिताले प्रतिभा, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई प्राथमिकता दिएको आयोजकको भनाइ छ। विजेताहरूले अब अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको पहिचान र संस्कृतिलाई विश्वमाझ प्रवर्द्धन गर्ने अवसर प्राप्त गर्नेछन्।


