नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। पार्टी नेतृत्वसँगको असन्तुष्टि चुलिँदै गएपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै अलग राजनीतिक रणनीतिमा अघि बढ्ने तयारी थालेको छ। यस कदमले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप तीव्र बनाएको छ भने पार्टी विभाजनको सम्भावना पनि बलियो बनेको छ।
देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थापन इतर पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी भएका थिए। भेलालाई सफल बनाउन विभिन्न तहमा तयारी तीव्र पारिएको नेताहरूले बताएका छन्।
भेलाको व्यवस्थापनका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। त्यसैगरी कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न १६ वटा विभिन्न उपसमिति पनि बनाइएको छ। राजनीतिक, समसामयिक राष्ट्रिय मुद्दा, संगठन सुदृढीकरण, पार्टी विधान संशोधन, मस्यौदा तयारी, प्रचार–प्रसार, व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए।
नेतृत्व पक्षसँग सहमति खोज्न आफूहरूले लामो समयसम्म धैर्यतापूर्वक प्रयास गरे पनि कुनै सकारात्मक पहल नदेखिएपछि राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको डा. शशांक कोइरालाले बताए। उनका अनुसार पार्टीभित्र देखिएको अन्योल, कार्यकर्तामा बढ्दो निराशा र नेतृत्वप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्न यो भेला आवश्यक बनेको हो।
कोइरालाले पार्टीभित्रको वर्तमान संकट केवल संगठनभित्र सीमित नरहेको उल्लेख गर्दै देशको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक अवस्थासँग समेत जोडिएको बताए। उनले भेलाबाट स्पष्ट वैचारिक दिशा, नयाँ नीतिगत दृष्टिकोण र संगठनलाई पुनर्गठन गर्ने कार्ययोजना तय गरिने विश्वास व्यक्त गरे।
भेलापछि देउवा समूहले औपचारिक रूपमा नयाँ राजनीतिक दल गठन गर्ने गृहकार्यलाई अघि बढाउन सक्ने चर्चा कांग्रेसभित्रै तीव्र बनेको छ। स्रोतहरूका अनुसार कोइराला परिवारको राजनीतिक विरासतलाई निरन्तरता दिन डा. शशांक कोइरालालाई नयाँ नेतृत्वका रूपमा अघि सार्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ।
यस अभियानमा नेता शेखर कोइरालाको पनि नैतिक समर्थन रहेको दाबी डा. शशांकले गरेका छन्। उनका अनुसार व्यक्तिगत व्यस्तताका कारण शेखर कोइराला पत्रकार सम्मेलनमा उपस्थित हुन नसके पनि अभियानप्रति आफ्नो सहमति रहेको जानकारी दिएका छन्। यसले कोइराला समूहभित्र पनि एक प्रकारको सहकार्यको संकेत दिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
यता सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने देउवा समूहका पछिल्ला गतिविधिलाई पार्टी विधानविपरीत भएको बताएको छ। विशेष महाधिवेशनको प्रस्ताव अस्वीकार गर्दै विधानबाहिरका मागहरू अघि सारिएको तथा पार्टीको वैधानिक नेतृत्वविरुद्ध अदालतसम्म पुगेको घटनाले सहमतिको सम्भावना झन् कमजोर बनेको संस्थापन पक्षको निष्कर्ष छ।
पार्टीभित्रको बढ्दो ध्रुवीकरणका कारण नेपाली कांग्रेस नयाँ राजनीतिक मोडमा पुगेको विश्लेषण हुन थालेको छ। राष्ट्रिय भेला केवल असन्तुष्टि व्यक्त गर्ने मञ्चमा सीमित रहने वा त्यसले नयाँ दल गठनसम्मको बाटो खोल्ने भन्ने विषय अब आगामी दिनका राजनीतिक गतिविधिमा निर्भर रहनेछ। कांग्रेसभित्रको यो घटनाक्रमले पार्टीको भविष्य मात्र होइन, समग्र नेपाली राजनीतिको शक्ति सन्तुलनमा समेत महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।


