शनिवार १४, मंसिर २०७६, काठमाडौं
आज सम्पन्न भएको उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ । साँझ ९ बजेसम्म आएको परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बलियो प्रभाव छाड्ने संकेत देखिएको छ । प्रारम्भिक रुझानले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य साना दलका लागि यो उपनिर्वाचनले निराश बनाउने अवस्था देखिएको हो । प्रतिष्ठाको विषय बनेको उपनिर्वाचनमा कांग्रेसले अझैसम्म खाता खोल्न सकेको छैन । प्राप्त पछिल्लो परिणाम अनुसार देशका विभिन्न जिल्लाका ८ वटा वडाको नतिजा आइसकेको छ । घोषित परिणाम अनुसार ती पाँचवटै वडामा सत्तारुढ नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको हो ।
बडिगाडमा ढालेन्द्र
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन विजयी भएका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन् । वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरे । १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाहीको हरिपुर्वा श्यामबाबु
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत प्राप्त गरि वडाअध्यक्ष पदमा विजयी भएका हुन्। थवाङमा जनकबहादुरको जीत रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । थवाङ वडान नम्बर १ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो ।
पुनर्बासमा कृष्ण विजयी
कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन् ।
सुन्दरबजारमा नवीन
लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन् । त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर केसी १२ मत ल्याएका छन् । कुलमा ११ मत बदर भएको थियो ।
कुमाखमा धर्मेको जित
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन् । नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन् । १ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो । जसमा ६० मत बदर भएको छ ।
इन्द्रावतीमा केदारनाथ
सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन् । उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए । राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए ।
उत्साहजनक रुपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो । त्यस वडामा १४ सय ४ मतदाता थिए ।
धुलिखेलमा देवप्रसाद
धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका हुन् । उनले ८६७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाए छन् । शनिवार साँझ सकिएको उपनिर्वाचनमा त्यहाँ १५०२ मत खसेको थियो ।
कांग्रेसले पनि खाता खोल्यो
उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।


