२१ माघ, काठमाडौं ।
चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ ।
चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ ।
दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन् ।
‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो ।’
चामल, नुन र तेल अभाव भएको उनले सुनाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङ्गबाट सीताराम गुरागाईंले लेखेका छन् ।


