Banijya News

वैदेशिक रोजगारीमा जाने ६० प्रतिशत महिला अदक्ष

1
1.1K Shares

२४ माघ, काठमाडौं ।
बर्षेनि लाखौँको संख्यामा वैदेशिक श्रम बजारमा प्रवेश गर्ने नेपालीहरूमध्ये एउटा महत्त्वपूर्ण हिस्सा महिलाको पनि छ। वैदेशिक रोजगारमा जाने महिला कामदारको सुरक्षाको लागि नेपाल सरकारले बेलाबखत विभिन्न संरक्षणमुखी अवधारणाहरू अवलम्बन गर्दै आइरहेको छ । तर त्यसको वावजुद वैदेशिक रोजगारीमा जाने ६० प्रतिशत महिला नै अदक्ष हुने गरेको तथ्य बाहिरिएको छ ।
आर्थिक वर्ष २०७५ ७६ को वैदेशिक रोजगार विभागले सार्वजनिक गरेकोे तथ्यांकमा रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । वैदेशिक रोजगारीमा गएका कुल महिलाको ५८.८४ प्रतिशत महिला कुनै सीप र दक्षताबिना नै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । विगत ३ आवमा वैदेशिक रोजगारीमा गएका ९७ हजार ३१० महिला मध्ये ५८.८४ प्रतिशत अर्थात ५७ हजार २५६ महिला कुनै सीप र दक्षता बिना (अदक्ष) नै गएको देखिन्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आम्दानीलाई सीप, दक्षतासँग तुलना गरिरहेकै बेला धेरै महिला कम शिक्षा आर्जन गरेका, ग्रामीण भेगमा बसोवास गर्ने, गरिबीको मारमा परेकाहरू नै दलालको आश्वासनमा परेर विदेसिएका देखिन्छन् । त्यसरी वैदेशिक रोजगारीमा जाने महिला सीप र दक्षताका हिसाबले कमजोर रहेको पाइएको छ । दक्षता र सीप कमजोर भएकै कारण सीपअनुसार पारिश्रमिक पाउदैनन् । यसरी दक्ष नभइ तथा सिप हासिल नगरी विदेसीदा दुःख पाउनेमा नेपाली महिला बढी रहेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको संख्या ०.०६ प्रतिशत अर्थात ६१ जनामात्र रहेको पाइएको छ । यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको संख्या ०.०५ प्रतिशत अर्थात ७८७ रहेको पाइएको छ । बिगत ३ वर्षमा पेशाविद्को रूपमा श्रम स्वीकृति लिएका गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात २९४ हुदा सोही पेशामा जाने पुरुषको संख्या ०.११ प्रतिशत अर्थात १ हजार ७४५ रहेको छ । संख्याको हिसाबले उच्च दक्षतायुक्त र पेशागत रूपमा विदेश जाने महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको भएपनि समग्र प्रतिशतमा महिला अगाडी रहेका छन् ।

1

Scroll to Top