फागुन ९, काठमाडौं :
हिन्दुहरुका आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसर अहिले झकिझकाऊ छ। महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका थरीथरीका बाबाजीहरु जम्मा भएका छन्। उनीहरुले हिजैदेखि धुनी जगाएर पशुपति क्षेत्रमा बसेका छन्।
पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् । लाखौँ भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने लाखौले दर्शन गरिसकेका छन् । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरेको जनाएको छ ।
नेपाल र भारतका कयौँ स्थानबाट आएका जोगीहरुलाई पशुपतिनाथ मन्दिर र वनकाली क्षेत्रमा राखिएको छ। विभिन्न रंग र खरानी धँसेका जोगीहरुलाई हेर्न युवायुवतीदेखि अन्य भक्तजनको ओइरो लागेको छ। शिवरात्रिका दिन पशुपतिनाथमा दर्शन गर्ने भक्तजनहरुको संख्या पनि उत्तिकै छ।
मृगस्थली जाने सिँढीमा लहरै बसेका छन् भर्खरै १६ ÷१७ वर्ष कटेकाजस्ता देखिने बाबाहरू । जो टीका लगाइदिन आतुर देखिन्छन् । प्रसादमा भाङ दिँदै । उनीहरू टीका र प्रसादको राम्रै व्यापार गरिरहेका देखिन्थे ।














