१९ फागुन, काठमाण्डौ ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा आगामी वैशाख १ गतेबाट उपलब्ध गराउने भएको छ । यो टेलिभिजन सेवा इन्टरनेटमा आधारित टेलिफोन सेवासँगै दिन लागेको कम्पनीले जनाएको छ । हाललाई यो सेवा अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा उपलब्ध गराउन लागेको नेपाल टेलिकमले जनाएको छ । त्यसपछी क्रमशः अरु क्षेत्रमा पनि यो सेवा विस्तार गर्दै लैजाने टेलिकमको योजना रहेको छ ।
इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले केही दिन अगाडी परीक्षण प्रशारण सम्पन्न गरेसँगै यो सेवा आउँदो वैशाख १ देखि ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
हाल यो सेवा वल्र्ड्लिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएका छन् । ती कम्पनीहरूले जस्तै टेलिकमले पनि अब ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउन लागेको हो ।
हाल नेपाल टेलिकमबाट १ करोड ३ लाख २२ हवार इन्टरनेट सेवा लिने ९ सय ४२ जनाले इन्टरनेट सेवा लिइरहेका छन् । यो कुल इन्टरनेटकर्ताको करिब ४९ प्रतिशत हो ।


