वैशाख १४, काठमाडौं ।
नेपालको बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको भारतिय पक्षले दाबी गरेको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा नेपालबाट भारत जाँदा त्यहाँको प्रशासनले कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
क्रसर बाट भारतीय नागरिकहरु वैशाख ५ गते भारतको बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको भन्दै नेपाललाई पत्रचार गरेको छ ।
भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी नेपाली पक्षलाई जनाकारी दिएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको हो ।
त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण भने देखिएको छैन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिक वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा हुन सक्ने अनुमान सहित उच्च सर्तकता अपनाईएको छ ।


