Banijya News

दक्षिण कोरियाले भन्यो- किम जोङ–उन ‘जीवित र स्वस्थ’ छन्

1
1.0K Shares

वैशाख १५, एजेन्सीं ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लामो समयदेखि सरकारी सञ्‍चारमाध्यममा अनुपस्थिति रहेपछि उनको स्वास्थ्य स्थितिका विषयलाई लिएर विभिन्‍न हल्लाहरु फैलाइएका छन् । उत्तर कोरियाका नेता किम जोङ ऊनको स्वास्थ्यबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला दक्षिण कोरियाले भने किम जीवित र स्वस्थ रहेको दाबी गरेको छ। 

‘हाम्रो सरकार यो कुरा निश्चित छ,’ दक्षिण कोरियाका राष्ट्रपति मुन जोइ-इनका उच्च राजनीतिक सल्लाहकार मुन चुङ-इनले भने, ‘किम जोङ उन अझै जीवित र स्वस्थ छन्। अप्रिल १३ देखि उनी ओन्सान क्षेत्रमा बस्दै आएका छन्। कुनै पनि खालका शंकास्पद गतिविधि पत्ता लागेका छैनन्।’

  गत १५ अप्रिलमा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिने किम इल सुङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी गरिएको छ। उत्तर कोरियामा सङको जन्मजयन्तिलाई निकै महत्वपूर्ण दिन मानिन्छ। सत्तामा आएदेखि किमले कुनै पनि वर्ष यो दिनको कार्यक्रम छुटाएका थिएनन्। त्यस्तै गत शनिबार उत्तर कोरियाली सेनाको स्थापना दिवसमा पनि उनी सहभागी नभएको समाचार सार्वजनिक भएको छ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । केहीले उनी बिरामी परेको भनेका छन् भने केहीले मुटुसम्बन्धी समस्याका कारण उनको मृत्यु भइसकेको हल्ला पनि चलाएका छन्।

गत साता अमेरिकी टेलिभिजन सिएनएनले किम जोङ उन गम्भीर बिरामी भएको र उनको शल्यक्रिया गरिएको समाचार प्रसारण गरेको थियो।

जापानका केही सञ्चारमाध्यमले किमको मुटुमा स्टेन्ट राख्न खोज्दा उनको ब्रेन डेड भएको खबर छापेका छन्। दक्षिण कोरियाको डेली एनकेले भने मुटुसम्बन्धी शल्यक्रियापछि किम निको भइरहेको जनाएको छ।

३६ वर्षीय किम विभिन्‍न विषयका लागि उत्तर कोरियाली सरकारी सञ्‍चारमाध्यममा आइरहने भए पनि लामो समयदेखि उनी मिडिया कभरेजमा छैनन् । सन् २०१४ मा पनि उनी करिब एक महिनाभन्दा लामो समय उत्तर कोरियाली मिडिया कभरेजबाट बाहिरिएका थिए । पछि उत्तर कोरियाली टेलिभिजनले उनी लंगडोजस्तो भएर हिडिरहेको देखाएको थियो । 

1

Scroll to Top