बैंशाख, १६ काठमाण्डौ ।
नेपाल राष्ट्रबैंकले कोभिड १९ बाट ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थालाई नयाँ सर्कुलर जारी गरेको छ ।
राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन भनेका छन् ।
यस अनुसार ऋणिले २०७६ चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासको ब्याज रकम गणना गरेर बुझाउन सक्ने छन् ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन भनेको छ ।
तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ । कोरोना प्रभावित को र कस्तालाई दिने कस्तालाई नदिने भन्ने अधिकार भने बैंक तथा वित्तीय संस्थालाई छोडिएको छ ।
होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल देखि हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले यो सुविधा पाउने छैनन् ।
राष्ट्र बैंकले गरेको परिपत्रमा लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको छ । कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थालाई ३ प्रतिशत ब्याज छुट दिनुपर्ने भएको छ ।
होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताहरुको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनुपर्ने छ ।


