बैंशाख, १७ पोखरा ।
कोरोना संक्रमण पछि देशमा लकडाउन थपिदै जाँदा पोखरामा फेसेका विभिन्न देशका १ सय २० जना पर्यटकलाई काठमाडौ फिर्ता ल्याइने भएको छ । युरोपेली मूलुकका ति पर्यटकलाई स्वीस दुतावासको व्यवस्थापन र पोखरा पर्यटन परिषद, पर्यटक प्रहरीसहितका विभिन्न संघ संस्थाको समन्वयमा उद्धार गर्न लागेका हो । उनीहरुलाई बिहिबार तीन वटा पर्यटक बसमार्फत काठमाण्डौ लगिने छ ।
उनीहरुलाई काठमाडौंबाट मे दुई तारिकमा कतार एयरको चार्टर उडानमार्फत स्वेदश फर्काउने तयारी फ्रान्स दुतावासले गरेको छ । फ्रान्स, स्वीस, होल्याण्ड, जर्मन, स्वीडेन, स्पेन, नर्भे, इटाली, फिल्याण्ड, बेल्जियम, डेनमार्क र नेपाली मुलका युरोपेली नागरिकहरुको समेत उद्धार गरिने भएको हो ।
यसअघि पोखरामा अलपत्र परेका विभिन्न देशका पर्यटकलाई विभिन्न संघ संस्था तथा दुतावासको सहयोगमा उद्धार गरिएको थियो । पोखरा क्षेत्रमा विभिन्न देशका करिब ३ सय ४६ जना पर्यटकहरु रहेको कास्की पर्यटक प्रहरीले जनाएको छ ।


