बैंशाख २०, एजेन्सी ।
पछिल्ला केही हप्ता देखि उत्तर कोरियाली नेता किम जोङ्ग उनको मृत्यु भएको हल्ला फैलियो । विश्वमा किमको मृत्यु भएको यो नै पहिलो हल्ला भने होइन । यस भन्दा अगाडि पनि ६ पल्टसम्म किमको मृत्यु भएको हल्ला चलाईएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
विशेषगरी अमेरिका र इजरायत पक्षधरले किम मरेको हल्ला चलाउने गरेका थिए । पछिल्ला दिनमा पनि विश्बभर कोरोनाको महामारी फैलिएको समय कोरियाली नेता किमको मृत्युको हल्ला चलाईएको हो । उनी २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए पछि त्यो हल्ला पनि निराधार भएका छ । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएपछि विश्वका संचार माध्यमको मुखमा बुजो लागेको छ । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।
यसअघि किम ११ अप्रिलमा पोलिटब्युरोको बैठकमा सहभागी भएका थिए । त्यसपछि लामो समय उन सार्वजनिक नभएपछि स्वास्थ्यलाई लिएर अनेक अट्कलबाजी भएका थिए । विश्वका कतिपय संचार माध्यमले उनको मृत्यु भैसकेको समाचार नै प्रकाशित गरेका थिए ।
विशेष गरी उत्तर कोरियाली नेता किमको बारेमा नकारात्मक हल्ला फैलाउँने अमेरिकाले समेत किम यस दुनियामा नरहेको भन्ने समाचार आफूलाई प्राप्त भएको भन्ने दाबी गर्दे आएको थियो ।
तर एका एक बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाली नेता किमको अवस्था आफूहरुलाई जानकारी नरहेको बताएका थिए । त्यसबारे अनुसन्धान गरिरहेको बताएपछि थप अन्योलता बढेको थियो ।
सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए । यो उनको ६ औं मृत्युको खवर थियो ।
१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ, तर त्यही कार्यक्रममा किम जोङ्ग उनको अनुपस्थितिलाई लिएर अड्कलबाजी सुरु भएको थियो ।
सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि उनी कतै देखिएका थिएनन् ।
दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम जोङ्ग उन देखिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे । त्यही भएर उनी कोवामा गएको वा मृत्यु नै भैसकेको दाबी विश्वका एकथरी शासकालाई थियो ।
त्यसपछि अनेक अड्कलबाजीको बीच उनको मुटुको शल्यक्रिया गरेको र गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएका थिए । कतिपय मिडियाहरुले त गुप्तचर स्रोतलाई उद्धृत गर्दै किम जोङ्ग उनको मृत्यु भइसकेको दाबी गरेका थिए । यतिखेर भने उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएपछि विश्वका संचार माध्यमको मुखमा बुजो लागेको हो ।


