Banijya News

काठमाडौंमा लकडाउन खुकुलो पार्ने तयारीमा सरकार

1
1.0K Shares

२१ वैशाख, काठमाडौं ।

सरकारले वैशाख २५ गते पछि काठमाडौंमा लकडाउन खुकुलो पार्ने तयारी  गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको हो।

काठमाडौंमा कोरोना संक्रमित निको भएर फर्किएका र नयाँ संक्रमित नदेखिएपछि लकडाउन खुकलो पार्ने तयारी गरिएको  हो।

लकडाउन खुकुलो पार्ने विषयमा अध्ययन गरेर मोडालिटी तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयले खुकुलो पार्न सकिने सम्भावना र त्यसको मोडालिटी मन्त्रिपरिषदमा पेश गरेपछिमात्रै थप निर्णय हुने बुझिएको छ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि लकडाउनको मोडालिटी परिवर्तन गर्ने र जिल्लाहरुलाई गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउने गरी प्रस्ताव गरेको थियो । 

स्वास्थ्य मन्त्रालयले बनाएको मस्यौदामा अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने उल्लेख छ। यस्तै कोभिड-१९ रोकथामका लागि कर्फ्यु, पूर्ण लकडाउन र आंशिक लकडाउन लागू गर्न सकिने भनिएको छ।

सामान्य जोखिमयुक्तलाई पहेंलो, उच्च जोखिमयुक्तलाई रातो र अतिउच्च जोखिमयुक्तलाई गाढा रातो सूचकमा राखेर लकडाउनको मोडालिटी तयार पारिएको छ।

लकडाउन खुले पनि सार्वजनिक सवारी साधन, सार्वजनिक स्थल, पार्क, रेस्टुरेन्ट, सिनेमा हल र मल सञ्चालनमा आउने छैनन्। विद्यालय तथा कलेजहरु तत्काल खुल्ने सम्भावना छैन।  

सरकारले बढाएको लकडाउन वैशाख २५ को मध्यरातबाट सकिँदैछ। सरकारले आन्तरिक तथा बाह्य हवाई सेवा जेठ ३ गतेसम्मलाई रोकको छ।




1

Scroll to Top