Banijya News

संक्रमित १२ लाख नाघ्दा अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार नजिक

1
1.0K Shares

गणेश थापा, क्यालिफोर्निया ।

नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । विश्वको सुपरपावर अमेरिकामा संक्रमितको संख्यामा समेत तीब्रगतिमा बृद्धि भइरहेको छ । अफिसियल डाटाअपडेट गर्दैआएको न्युजब्रेकका अनुसार गत जनवरीमा कोभिड-१९ को संक्रमण देखिएयता अमेरिकामा अहिलेसम्म १२ लाख १० हजार बढी मानिस संक्रमित भएका छन् । यस अवधिमा कोरोना भाइरसको संक्रमणबाट ६९ हजार ६ सय ५५ जनाको ज्यान गएको छ । यो तथ्यांक क्यालिफोर्नियाको स्थानीय समय अनुसार सोमबार राति १ बजे (नेपाली समय मंगलबार दिउँसो २ बजे) सम्मको प्राप्त अपडेट हो ।

गतवर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तस्थित उहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३६ लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भइसकेको विश्वभरको कूल संख्याको झण्डै ३३ प्रतिशत मानिस अमेरिकामा मात्रै संक्रमित भएका छन् । आज २४ घण्टाको अवधिमा १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने अघिल्लो दिन पनि सोही हाराहारीमा अमेरिकाबासीहरूले ज्यान गुमाएका थिए । कोरोना भाइरसको संक्रमण फैलिएयता विश्वभर अहिलेसम्म २ लाख ५२ हजार बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण अमेरिकाको ५० वटा राज्यहरू मध्ये न्युयोर्कमा सवैभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहॉ मृत्यु हुनेको संख्या २५ हजार पुगेको छ । यस अवधिमा न्युयोर्कमा मात्रै ३ लाख २७ हजार बढी व्यक्ति संक्रमित भएका छन् । यता क्यालिफोर्नियामा पनि मृतको संख्या २२८९ पुगेको छ भने ५६ हजार १३५ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण अघिल्लो साता दिनहुँ २ हजार बढीको मृत्यु भइरहेको अमेरिकामा केही दिनयता मृतकको संख्यामा कमी आएको छ ।

यसैगरी अप्रिल महिनामा भाइरसको संक्रमण उच्च देखिएको अमेरिकामा मे महिना सुरू भएयता नयॉ विरामीको संख्यामा समेत केही कमी आएको छ । गएको हप्ता दैनिक ३० हजार माथि रहेको संक्रमित संख्यामा समेत पछिल्लो समय निरन्तर ह्रास आइरहेको तथ्यांकले देखाउँछ । आज २४ घण्टाको अवधिमा अमेरिकामा २४ हजार ७२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अघिल्लो दिन समेत सोही हाराहारीमा नयॉ विरामीहरू थपिएका थिए ।

स्वास्थ्य विशेषज्ञहरूले कोभिड-१९ बाट उत्पन्न संकटको सामना गरिरहेको अमेरिकामा २ लाख बढीको मृत्यु एवम् दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् । यसैबीच चीनको उहानस्थित एक ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने अमेरिकी विदेशमन्त्री माइक पम्पिअोको पछिल्लो आरोपलाई चिनिया पक्षले अस्वीकार गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएयता अमेरिका र चीनको उच्च तहमा आरोपप्रत्यारोप चल्दै आएको छ । यता अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरूद्धको भ्याक्सिन तयार हुने तथा कोरोना संक्रमणका कारण आफ्नो देशमा एक लाखसम्म मानिसको ज्यान जानसक्ने आफ्नो पछिल्लो अनुमान सार्वजनिक गरेका छन् ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट हालसम्म अमेरिकामा १५ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । कोरोना संक्रमणको ठूलो मार खेपिरहेको न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । अहिलेसम्म अमेरिकाभर १ हजार ५ पॉच सय बढी नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको यहॉ सक्रिय विभिन्न संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

उता नेपालीमूलका अमेरिकाको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारी लगायत विभिन्न सामाजिक संघसंस्थाहरू कोरोना संक्रमितको सहयोग तथा मृतकहरूको शव व्यवस्थापनमा सक्रिय रहदै आएका छन् । विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ । कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् । कोरोना भाइरसको संक्रमणमा केही कमी आउनथालेपछि शैक्षिक, सार्वजनिक तथा केही व्यापारिक हबहरू पुन: संचालन गर्नेतर्फ अमेरिकाका विभिन्न राज्यका राज्यसरकारहरू चरणबद्ध योजनाहरू घोषणा गरिरहेका छन् ।

1

Scroll to Top