कोरोना भाइरसबाट प्रभावित भएका मुलुकमा ११ औं स्थानमा छ भारत । कोरोना संक्रमण तीब्र रुपमा फैलने मुलुकमा यो ४ औ स्थानमा छ । आम जनतामा भुसरको आगो झै भित्र भित्रै भारतमा कोरोना फैलिरहेको छ । यही समय रोजगारीका लागि भारतमा पुगेका नेपाली नागरिक त्यहाँ बस्न समस्या भएपछि अचेल घर फर्किरहेका छन् । भारतबाट हजारौं नेपाली स्वदेश फर्किदा नागरिकको नेपालमा व्यवस्थापनको समस्या चर्किँदै गएको छ ।
झापाको पानी ट्याङकी, धनुषा–महोत्तरीको सीमा क्षेत्र, नेपालगञ्जको जमुनाहा नाका, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र खुनुवा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका तथा चाँदनी दोधारा लगायत सीमा क्षेत्रबाट दैनिक ठूलो संख्यामा नेपाली फर्किरहेका छन् ।
सुरुमा नाका नजिकै क्वारेन्टिनमा राख्ने गरिए पनि चाप थेगिनसक्नु हुँदै जाँदा उनीहरुलाई जाँच गर्नेदेखि खानपान, बसोवास र घर पठाउनेसम्मका लागि तयारी नै छैन । बरु संघीय तथा प्रदेश सरकार नै अलमलमा छन् । संक्रमणको जोखिम बढ्दै जाँदा स्वदेश फर्कन चाहेका नेपालीलाई विदेशबाट ल्याउने र स्थानीय तहको जिम्मा लगाउने छलफल सुरु भइरहेको बताउँदै आए पनि संङीय सरकार कुनै ठोस निष्कर्षमा पुगेको छैन ।
भारतबाट फर्कने नेपालीको स्वास्थ्य परीक्षण गरेर भित्र्याउने र व्यवस्थित क्वारेन्टिनमा राख्ने त कुरै छाडौं, खानेबस्ने व्यवस्था मिलाउन समेत स्थानीयस्तरमा हम्मे–हम्मे पर्न थालेको छ ।
अब सानोतिनो प्रयासले व्यवस्थापन धान्न सक्ने अवस्था छैन । सीमा क्षेत्रका स्थानीय तहले मात्रै यो क्षमता राख्दैनन् । यस्तो अवस्थामा संघीय सरकारको योजना के छ त ? भारतसँग सिमाना जोडिएका प्रदेशहरुमा केही हजारलाई मात्रै व्यवस्थापन गर्ने तयारी थियो । तर अहिले थेगिनसक्नु संख्यामा सीमा क्षेत्रमा जम्मा हुने र भित्रिने क्रमले प्रशासन र स्थानीय टाउको दुखाइ बनेको छ । तर यसरी भित्रिनेको संख्या बढ्दै जाने पूर्वआकलन हुँदाहुँदै त्यो अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्नेमा प्रदेशहरुले ध्यान नपुर्याउँदा पनि अहिलेको अस्तव्यस्तता देखिएको हो । कतिसम्म भने अहिले प्रदेश सरकारले आफ्नो क्षेत्रकालाई र त्यो पनि स्थानीय तहको सम्वन्वयमा मात्रै राख्न सकिने बताउन थालेका छन् । अझै पनि स्थिति भयावह बन्न नदिन संघीय सरकारले भारतबाट भित्रिनेहरुलाई उचित व्यवस्थापन गर्न अविलम्ब कदम चाल्नुपर्छ ।
पूर्वदेखि पश्चिमसम्म दशगजा क्षेत्रको भारतीय भूमिमा क्वारेन्टिनमा बसेकालाई भित्र्याइए पनि उनीहरुको सामान्य स्वास्थ्य परीक्षण समेत हुँदैन । बरु आसपासका अरु पनि थपिएर आउँछन् । अनि प्रशासन र स्थानीय तहले नेपालमा ल्याएर क्वारेन्टिनमा पुरानासँगै मिसाउँदा भद्रगोल मात्रै भइरहेको छैन, थप त्रास र जोखिम बढिरहेको छ । तर गृह मन्त्रालय भने स्वास्थ्य परीक्षण गराएर मात्रै नेपाल भित्र्याउन र व्यवस्थित क्वारेन्टिनमा राख्न परिपत्र गरेको दाबी गर्छ ।


