१२ जेठ, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते राति बाराका ७० वर्षीय बृद्धको मृत्यु भयो । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भयो ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । अन्त्येष्टिमा बृद्धको परिवार मात्र होइन गाउँले, आफन्त देखि शुभचिन्तक सबैको उपस्थित थियो । तिनै अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितहरुको शव दहनको लागि सरकारले नयाँ कार्यविधी बनाएको छ । शवहरुको व्यवस्थापन निकै सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । तर, अस्पतालको लापरबाहीले सामान्य व्यक्तिको शव झै बुझेर आफन्तले दाहसंस्कार गरेका छन् । सो शवबाट आफन्तजन, मलामी गएका व्यक्ति लगायतमा समेत कोरोना संक्रमण फैलिनसक्ने उत्तिकै छ । सरकारले सो शवको सम्पर्कमा गएका, मलामी गएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्नुपर्ने हुन्छ ।
उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टी गरे । ढिलो गरी टेकूले पठाएको रिपोर्ट पोजिटिभ आएपछि मात्र ती वृद्ध कोरोनाका कारण मरेका पुष्टि भएको दाबी गरिएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सो घटनाको छानबिन गर्ने बताइसकेका छन् । रिपोर्ट नै नआई अस्पतालले शव दिनु गलत रहेको बताउँछन् । उनले दोषीहरुमाथि कारबाही समेत हुने बनाएका छन् ।
उनले समेत जेठ ४ गते मृत्यु भएका व्यक्तिको स्वाब तत्काल पठाइए पनि रिपोर्ट सोमबार मात्र आएको असन्तुष्टि व्यक्त गरे । स्थानीय प्रशासनले नेशनल मेडिकल कलेजको अस्पताल शिल गर्ने तयारी समेत थालेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि ३ जना कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरिसकेको छ ।


