देशमा कोरोना भाइरसको संक्रमण भित्र भित्रै भुसको आगो झै सल्कन थालेको छ । पछिल्लो पटक स्याङ्जा र जुम्लामा समेत संक्रमित फेला परेका छन् । योसहित देशका ७७ मध्ये ४६ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबारको नियमिति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।


