कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बसिरहेका एक नेपालीले बहराइनमा आत्महत्या गरेका छन् । एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पुष्टि गरेका छन् । उनी केही दिन देखि डिप्रेसनमा रहेको सुन्दासले बताएका छन् । यसअघि पनि बहराईनमा दुईजनाले छतबाट हामफालेर आत्महत्या गरेका थिए । मृत्यूपछि गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थिएन । उनीहरु ममेत डिप्रेसनको शिकार भएको पाइएको थियो ।
बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको दुतावासले जनाएको छ । तीमध्ये धेरै नेपाली कोरोना मुक्त भइसकेको र संक्रमितलाई गुणस्तरीय उपचार पनि भइरहेको उनले राजदूत सुन्दासले बताए ।
बहराइनमा कोरोना संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यू भएको छ । बहराईनमा कोरोना संक्रमितको संख्या भने १० हजार ५२ रहेका छन् । ५ हजार ४ सय १९ जना कोरोना मुक्त भइसकेको वर्लेमिटरद्वारा प्रकाशित तथ्यांकमा देखिन्छ ।


