अर्थमन्त्री डा युवराज खतिवडाले बिजुली गाडी कर पाँच गुणासम्म बढाएका छन् । सरकारले ल्याएको नयाँ बजेटमा एकैपटक करको सीमा १४९.२ प्रतिशतसम्म बढाएको छ । चालु आर्थिक बर्षमा बिजुली गाडी चलाउन चाहने उपभोक्तालाई बिजुली गाडी (दुई पांग्रे, कार, जिप, भ्यान, बस) आयातमा १० प्रतिशत भन्सार शुल्क, पाँच प्रतिशत सडक दस्तुर र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लाग्दै आएकोमा एकैपल्ट आम नागरिकले खरीद गर्न नै नसक्ने गरी बढाएका छन् ।
सरकारको नयाँ बजेट ब्यावस्था अनुसार न्यूनतम क्षमता ५० किलोवाटको भएको गाडिको मुल्य ९ लाख १० हजार पुग्ने भएको छ । यो गाडि नेपाली कम्पनीले पाँच लाखमा खरीद गरेको हुन्छ । यसमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । यो भ्याटसहितको रकममा फेरि थप ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने भएकाले गाडि खरीद अझ महँगो भएको हो ।
संसारभर बिजुली सवारीसाधन प्रवद्र्धन भइरहेका समाय नेपालले भने उँधोगतिको नीति लिएको छ । नेपाललाई पर्यटकीय गन्तव्य भएको मुलुकका रुपमा विकास गरेर संसारभर ’ब्रान्डिङ’का लागि नवीकरणीय ऊर्जामा आधारित पर्यावरण बनाउनतिर जानुपर्नेमा सरकार राजश्वमुखी भएको हो ।
कति अन्तशुल्क लाग्छ अब ?
- ५० किलोवाट क्षमता भएको गाडीमा ३० प्रतिशत ।
- ५० देखि १०० किलोवाट क्षमताकोमा ४० प्रतिशत ।
- १०० देखि १५० किलोवाट क्षमताकोमा ५० प्रतिशत ।
- १५० देखि २०० किलोवाट क्षमताकोमा ६० प्रतिशत ।
- २०० देखि ३०० किलोवाट क्षमताकोमा ७० प्रतिशत ।
३०० किलोवाट क्षमताभन्दा माथिका ८० प्रतिशत ।


