काठमाण्डौ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काममा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना नयाँ मापदण्ड तयार पारेको छ । गत वैशाख २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गरी विकास आयोजनासम्बन्धी कार्य सुरु गर्न सकिने निर्णय प्राधिकरणले पनि नयाँ मापदण्ड लागु गरेको हो ।
प्राधिकरणले तयार पारेको मापदण्डलाई कार्यकारी समितिको बैठकले स्वीकृत गरेसँगै पालना गर्नुपर्ने नयाँ मापदण्ड लागु गरेको हो । अव कामदारले नयाँ मापदण्ड अपनाउँदा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका काम गर्दा उच्च सर्तकता अपनाउनुपर्ने भएको छ ।
सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समितिले हरेक कामदारलाई सङ्क्रमण जोखिमबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्न काममा लगाउनुपूर्व कोरोना भाइरस सम्बन्धी सामान्य जानकारी, भाइरस सङ्क्रमण हुने प्रक्रिया, सङ्क्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र सङ्क्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनुपर्ने उपायहरुबारे जानकारी गराउनु पर्नेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताए । यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी, कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी पनि मापदण्ड तोकिएको छ ।
मुख्य मापदण्डहरु
- कार्यस्थलमा मास्क, थर्माोमिटर, थर्मोगनको उपलब्धता अनिवार्य
- न्यूनतम सामाजिक र भौतिक दूरी कायम हुनुपर्ने
- खकामदारका बोतल र भाँडोको उपलब्धता अलग हुनुपर्ने
- कार्यस्थल व्यवस्थापनकोरोना रहित हुनुपर्ने
- कार्यस्थल नजिकको जनशक्ति प्रयोग गर्नुपर्ने
- कार्यस्थल वा कार्यस्थल नजिक अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने
- सुपरिवेक्षकको अनुमतिबिना बाहिर आफूखुशी हिंडडुल गर्न नपाउने
- पुनर्निर्माणको कार्य पहिले वडा कार्यालयलाई जानकारी दिनुपर्ने
- बाहिरबाट कामदार ल्याउनुपरेमा स्थानिय निकायलाई जानकारी गराउँनु पर्ने
- कार्यस्थलमा साबुन पानी, मास्क, शौचालय र सरसफाइको व्यवस्था मिलाउनु पर्नेछ ।


