सरकारले संविधान संशोधन बिधेयक संसदमा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन् ।
सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन गर्न लागिएको हो ।
मन्त्री तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेश गर्न अनुमति दिएका थिए ।
सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।
यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको थियो । शनिबार नेपाली कांग्रेसले संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेको छ ।
संसदमा यो विषयमा छलफल हुने छ । संशोधन राख्नेदेखि परिपक्व हुनेसम्मको समय पार गर्दै प्रतिनिधि सभाबाट पारित हुने छ । प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पेश हुने छ ।
दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि निशान छापमा औपचारिक रुपमा चुच्चे नक्सा आउने छ ।


