मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाका व्यवसायीहरुको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै बजार खुलाउने निर्णय गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि सकारात्मक धारणा नआएको भन्दै संघले अव बजार खुलाउने निर्णय गरेको बताए । न्यौपानेले व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा पारेकोले अवको विकल्प भनेको बजार खुलाउनु नै रहेको बताए ।
११ चैतदेखि जारी लकडाउनले व्यवसायीहरु चरम पीडामा परेको भन्दै सुरक्षा संवेदनशीलता अप्नाएर बजार खुलाइने संघले जनाएको छ । ‘रोगले होइन, भोकले मर्ने स्थिति छ’ भन्दै मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् सबै वस्तुगत संघहरुले बजार खुलाउने तयारी गरेको हो ।
मकवानपुर प्रशासनले हरेक दिन बिहान ९ बजेसम्म अत्यावश्यक वस्तुका पसल खुल्न अनुमति दिएको छ । हेटौंडामा प्रशासनको अनुमति बेगर अत्यावश्कभित्र नपर्ने पसलहरु पनि खुल्ने गरेका छन् । केही व्यवसायीहरुले प्रशासनको आँखा छलेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


