लकडाउन लत्याउँदै काठमाडौंका व्यापारीले पसल सञ्चालन गरेका छन्। सरकारले लकडाउन मात्र गरेको तर अन्य विकल्पमा तत्परता नदेखाएको भन्दै नेपाल राष्ट्रिय व्यवसयी महासंघले बिहीबारबाट बिहान ११ बजेसम्म पसलहरु खोल्ने निर्णय गरेको थियो।
आज विशेषत राजधानीको न्यूरोड, महाबौद्ध, बानेश्वर, कोटेश्वर, चाविहल, बौद्ध लगायतका स्थानबाट व्यवसाय खोलिएका थिए । पसल खोलेका कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।
पसल खोलेपनि सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने कायम गरिने व्यवसायीले बताएका छन् । न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको पालना गरिने व्यवसायीले जनाएका छन् ।
सरकारले ७३ दिनदेखि लकडाउन जारी राखे पनि लकडाउन बाहेक अन्य विकल्प खोज्न नसक्दा व्यापारीदेखि आम सर्वासधारण मर्कामा परेकाले अहिले देशभर सरकार र लकडाउनको विरोध भइरहेको छ।
त्यस्तै, आज दिउँसो नै लकडाउनको विषयमा छलफल गर्ने मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।


