नेपाल सरकारले तोकेको भन्दा सस्तो टिकटमा ओमानबाट दोश्रो उडानबाट १४७ नेपाली स्वदेश आएका छन् । नेपाली दूतावास ओमानको पहलमा सलाम एयरले उनीहरुलाई सस्तो हवाई भाडामा स्वदेश ल्याएको हो ।
सलाम एयरको फ्लाइट नम्बर ओभी ४२७ जहाजबाट ११० जना पुरुष र ३७ जना महिला स्वदेश पठाइएको हो । नेपाल आउँने सबैको पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट छ । उनीहरु विमानस्थल र होल्डिङ सेन्टर हुँदै सीधै होम क्वरेण्टीनमा जान सक्ने दूतावासले जनाएको छ ।
दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको हो । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।
सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८१६ रुपैयाँ हो । यसअघि पहिलो उडान मार्फत गत असार एक गते १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।


