कोरोना जोखिमका बीच भत्तपुरका किसानले भने रोपाईलाई अन्तिम चरणमा पुन्याएका छन् । देशभरी लकडाउन चलेको र आफ्नो ठाउँ बाहिर जान रोक लगाएको कारण भक्तपुरमा धान रोप्ने काम अन्तिम चरणमा पुगेको हो ।
हरेक वर्ष असारको दोस्रो साता देखि धान रोप्ने काम हुँदै आएको भएपनि यो बर्ष भने कोरोना प्रभाब पछिको लकडाउन अनी बेलैमा मौसमको समेत साथ पाएको कारण रोपार्ई कार्य अन्तिम चरणमा पुगेको हो ।
लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।
जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण, मध्यपुर ठिमी लगायत अधिकांस क्षेत्रमा यतिखेर धान रोपाई भै सकेको देखिन्छ । चाँगुनारायण झौखेलका सुन्दरमणि कक्षपति यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताउँछन् । उनी भन्छन् लकडाउन पनि छ पानि पनि समयमै परेकोले गर्दा धानखेती चाँडै भएको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाइँ सकिन लागेको बताए । उनका अनुसार यस वर्ष नगरपालिकाले धानको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको र मल पनि समयमै विभिन्न निकायले वितरण गरेकाले सहज र छिटो रोपाइँ सकिन लागेको छ ।
यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउँछन् । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको यस क्षेत्रमा ७० प्रतिशत धान रोपाई सकिएको उनी बताउँछन् । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।


