नेपालमा कोरोना संक्रमण प्रतिदिन बढ्दो छ । विहीवार मात्रै थप ४३४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ जनामा पुगेको छ । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा प्रतिदिन फैलदै गरेको कोरोनालाई संक्रमणको नयाँ चरणको रुपमा हेर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा यसलाई संक्रमणको चौथो चरण प्रवेश गरेको मानिन थालिको छ । विश्व स्वास्थ्य अवस्थमा यो भनेको सम्वेदनशिल अवस्थातीर गएको हो । यसलाई भयावहतिर जाँदै गरेको चरणका रुपमा लिनु पर्ने हुन्छ । बिहीवार सम्म संक्रमणबाट निको भएर घर फर्कनेको संख्या पनि धेरै छ ।
नेपालको जनसंख्याको अनुपात, संक्रमणको क्षेत्र विस्तार, मृत्यु हुनेको संख्या, स्वास्थ्य उपचारको हैसित र नियन्त्रणको सीमा आदिलाई हेरेर यसलाई चौथो चरण प्रवेश करार गरिएको छ । यो चरणमा प्रवेशसँगै सरकारले स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार अगाडि बढनु पर्ने हुन्छ । ऐनमा व्यवस्था भएअनुसार सरकारले देशको कुनै ठाउँ, भाग वा क्षेत्र वा सिंगो देश नै विपद् संकटग्रस्त घोषणा गरेर सम्प्रदायमा फैलने गतिविधि नियन्त्रण गर्न सक्ने हुन्छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यसका सीमा, दायरा र समयावधिको जानकारी गराउने व्यवस्था छ ।
पछिल्लो चरणमा कोरोनाको बढ्दो संक्रमणसँगै अव्यवस्थाका कारण क्वारेन्टाइनमा बस्दै आएका मानिस भाग्न थालेका छन् । देशभर बनाइएका क्वारेन्टाइनबाट दैनिक ६ हजार ७ सय जनाले क्वारेन्टाइन छाड्नु भनेको चिन्ताको विषय हो । यसमा त्यहाँ बसेका मानिसको मानसिकतामा सकारात्मक प्रभाव ल्याउनका लागि खान, बस्न, सरसफाइ र शौचालयको व्यवस्था नहुनुले मूलतः असजिलो वातावरणीय प्रभाव पारेको छ । क्वारेन्टाइन बस्न नसकेरै भाग्नु पर्ने अवस्था आउँनु आफैमा लज्जास्पद कुरा हो । यस्ले सरकारको कार्यशैली माथि प्रश्न त उठछ नै सम्प्रदायलाई समेत असुरक्षित पर्दछ ।
विदेशबाट स्वदेश फर्कनेको ठूलो हुल देश प्रबेश गरिरहेको अवस्था छ । विदेशबाट आउँनेको परीक्षणलाई प्रभावकारी बनाएर संक्रमित र असंक्रमित गरी समयमै छुट्याउन पाए रोकथाम विश्वसनीय र प्रभावकारी हुँदै जाने तर्फ ध्यान दिनुपर्नेमा त्यो भैरहेको छैन् ।
विदेशबाट आएका र क्वारेन्टाइनमा बसेकाहरुका लागि शारीरिक व्यायाम तथा अन्य सिर्जनात्मक कार्यहरु सञ्चालन नहुने भएकाले त्यहा बस्नेलाई जेल सरह भएको छन् । गाउँघरमा संक्रमितका परिवारलाई छोइछिटोजस्तो दूर्वव्यवहारका कुराहरु बाहिर आएका छन् । यस्ले समाजमा मनोवैज्ञानिक पीडा थपिरहेको छ । यही समय झण्डै दुई हप्तासम्म स्वाब संकलन गरेर पठाएको नमूनाको रिपोर्ट नआउँनु आफैमा समस्याग्रस्त अवस्था हो ।
यस्तो अवस्थामा समयमै स्वाब संकलन र परीक्षण नगरिनु र परीक्षण औजार नहुनुका कारण संकलन गरिएका स्वाबको म्याद गुज्रनु तथा आवश्यक औषधिको व्यवस्था नहुनुले पनि थप तनाव सिर्जना गरेको छ । संक्रमितको संख्या बढ्दै जानु तर परीक्षण कार्य घट्दै जानुका कारण पनि महामारीले संक्रामक रुप लिँदै गएको छ ।
कोरोना यतिखेर कसैको पनि पृय पात्र होइन । न त महामारी कसैको मित्र हुन सक्छ । यस्तो अवस्थामा लकडाउनलाई केही कडाइ गर्दे महामारी संक्रमणको रोकथामका उपाय अघि बढाउनै पर्ने देखिन्छ । एक आर्थिक वर्षको अन्त्य र अर्को आर्थिक वर्षको सुरुवातीमा सरकारले जनतालाई कर तिर्न अपिल गरे पनि सोको सुनुवाइ नहुँदा व्यवसाय खोल्न दिई कर असुल्न यो तरिका अपनाएको देखिन्छ । चार पैसो आउने बाटो कतैबाट नहुँदा सरकारलाई कर तिर्ने कसरी भन्ने प्रश्न व्यापक उठेपछि यो मध्यमखाले उपाय अपनाएको देखिन्छ ।
तथापि, जनस्वास्थ्य प्रधान कि आर्थिक भन्ने प्रश्न टड्कारो रुपमा उठिसकेको छ । यतिबेला सरकारले जनस्वास्थ्यलाई कुनै पनि मानेमा नजरअन्दाज गर्न मिल्दैन । यसका साथै अस्तव्यस्त क्वारेन्टाइन, खुकुलो लकडाउन र पीसीआर परीक्षणको दायरा फराकिलो बन्न नसकेका कारणको खोजी गरी राहत र सहुलियतका प्याकेज कार्यक्रम आउनु जरुरी छ ।


