श्रावण ४, काठमाडौं ।
जिल्ला भित्र मात्रै सञ्चालन हुनेगरी सोमबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीहरू सहमत भएका छन् । विभिन्न माग राख्दै आएका व्यवसायीहरुले आइतबार यातायात व्यवस्था विभागमा भएको छलफल पछि सोमबार देखि यातायात सञ्चालन गर्न सहमत भएका हुन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमार्फत व्यवसायीहरुका माग सम्बोधन भएपछि यातायात सञ्चालन गर्ने निर्णय भएको यातयात विभागले जनाएको छ । सरकारले २६ असारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले सवारीसाधन मर्मतका लागि पुनर्कर्जा दिनुपर्ने लगायत माग पूरा नभएसम्म सेवा शुरु नगर्ने बताउँदै आएका थिए।
सरकारले ५० प्रतिशत बढि भाडा लिएर सुरक्षाका मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना संक्रमण जोखिमका बीच यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न व्यवसायीसँग आग्रह गरिएको छ । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।


