वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा व्यापक गिरावट आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा रोजगारीमा जाने संख्यामा भारी गिरावट आएको हो । विश्वब्यापी रुपमा आएको कोरोना भाइसरको संक्रमण पछि शासकहरुले गरेको लकडाउनका कारण विदेश जानेको संख्यामा भारी गिरावट आएको हो । यसका अलावा लामो समय मलेसिया रोजगारी बन्द हुँदा पनि विदेश जाने घटेका हुन् ।
आर्थिक वर्ष २०७६–७७ मा विदेशिने नेपालीको संख्या २७.५९ प्रतिशतले घटेको बैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ५ लाख ८ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा आर्थिक वर्ष २०७६÷७७ मा ३ लाख ६८ हजार ४३३ जनाले मात्र गएका छन् ।
यस आर्थिक वर्षमा नेपालीहरुको प्रमुख गन्तव्य रहेको यूएईका लागि ९३ हजार ४२४ जना, साउदी अरबका लागि ८२ हजार १६३ जना, कतारका लागि ८१ हजार ५६७ जना, मलेसियाका लागि ५९ हजार ७१४ जना, कुवेतका लागि १६ हजार ८६२ जना, बहराइनका लागि ६ हजार १८९ जना, ओमानका लागि ४ हजार १३९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल यो वर्ष श्रम स्वीकृति लिनेको संख्या अघिल्ला वर्षभन्दा घटेको बताए । उनले भने, –‘कोरोना संक्रमणले चार महिना कामदार थुनिदा विदेश जाने घटेका हुन् ।’


