सरकारले थप ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा अनुसार गठित समितिको सिफारिसमा निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतलाई सरुवा एवम् पदस्थापना गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त)मा सरुवा गरेको छ भने न्यौपानेको ठाउँमा कर्णाली प्रदेशका प्रमुख सचिव टेक नारायण पाण्डेलाई ल्याइएको छ ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशमा प्रमुख सचिवका रुपमा कार्यरत तोयम रायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रुपमा कार्य गर्ने गरी सरुवा गरिएको छ ।
अतिरिक्त समूहमा रहेका सचिव विष्णुप्रसाद नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा काम गर्ने गरी सरुवा गरिएको छ ।
त्यस्तै अतिरिक्त समूहमा रहेका सचिव डा मानबहादुर विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशको मुख्य सचिवको काम गर्ने गरी सरुवा गरिएको छ ।


