जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २८ वर्षपछि वार्षिक साधारणसभा गर्ने भएको छ । आर्थिक वर्ष २०४७÷०४८ देखि सधारण सभा नगरेको जडिबुटी कम्पनीले सबै बर्षको साधारण सभा एकैपल्ट गर्ने भएको हो । जस अनुसार २०४८ साल देखि हालसम्म एकेचोटी २८ बर्षको साधारण सभा हुनेछ ।
नेपाल सरकारको ८७.५८ प्रतिशत र निजी क्षेत्रको १२.४२ प्रतिशत स्वामित्व भएको यो कम्पनीले केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा साउन १७ गते शनिबार सधारण सभा डाकेको छ । जुन सभामा २८ बर्षकौ प्रतिबेदन एकपल्ट हुनेछ । कम्पनीले वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरणसमेत छलफल गर्ने र अनुमोदन गर्ने उद्देश्य सहित साधारण सभा बोलाएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७७ अनुसार कम्पनीको अधिकृत पुँजी ३ करोड ८६ लाख, जारी पुँजी ५ करोड रूपैयाँ र चुक्ता पुँजी २ करोड ७५ लाख रूपैयाँ छ । कम्पनीले नेपाल सरकारलाई बुझाउन मात्रै साँवा ४ करोड ९३ लाख रूपैयाँ र त्यस्को ब्याज ७ करोड ६७ लाख रुपैया छ । त्यस्तै कम्पनीले सरकारलाई ८ करोड रूपैयाँ आयकर सरकारलाई बुझाउन बाँकी छ । आर्थिक वर्ष २०७५÷०७६ मा कम्पनीले १ करोड ९२ लाख रूपैयाँ खुद नाफा गरेको देखिन्छ । त्यस अवधिसम्मको कम्पनीको सञ्चित नाफा २८ करोड ४४ लाख रूपैयाँ छ । कम्पनीको खुद सम्पत्ति (नेट वर्थ) ३१ करोड २२ लाख रूपैयाँ बराबरको छ ।


