श्रावण ७, काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत महोत्तरीका कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी बिरामी भएपछि उपचारका लागि एक साता अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । सुरुमा आईसीयूमा राखिएकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंगलबार आइसोलेसनमा सारिएको थियो । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई निमोनिया भएको थियो । त्यस्तै, मिर्गौलामा पनि समस्या देखिएको थियो। मिर्गौलाले काम गर्न छोडेपछि उनको उपचार सम्भव नभएको अस्पालले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।


