श्रावण ७, काठमाडौं ।
सिटिजन्स बैंकले विद्युतीय भुक्तानीमा १ वर्षसम्मको शूल्क छूट दिने भएको छ । कोरोना भाईरसको त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड लगायतका विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क मिनाहा गर्ने भएको हो ।
कोरोनाको महामारीसँगै गत चैत ७ गते देखि विद्युतीय भुक्तानीमा लाग्ने शूल्क सबै बैंकले छूट दिए पनि यही साउन १ पछि भने त्यस्तो सुविधा बन्द गरेका छन् । तर सिटिजन्स बैंकमा बचत खाता भएका ग्राहकहरुका लागि घर तथा अफिसबाटै बैंकिङ सुविधा दिने उद्देश्यका साथ सबै प्रकारका विद्युतीय भुक्तानीमा पहिलो वर्षको शूल्क छूट गरेको हो ।
तर अन्य ग्राहकहरुको हकमा भने विद्युतीय माध्यमबाट गरिने कारोबारमा यथावत रुपमा शूल्क लाग्ने बैंकले जनाएको छ । बैंकको डेबिट कार्डबाट गरिने कारोबारको हकमा अर्को सूचना जारी नभएसम्म सबै ग्राहकलाई कुनै पनि शूल्क लाग्ने छैन ।


