Banijya News

आज नाग पञ्चमी पर्व मनाइँदै, यसकारण गरिन्छ नागको पूजा

1
1.0K Shares

आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन् । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ । घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

भारतका केही स्थानहरुमा श्रावण कृष्ण पञ्चमी तिथिमा पनि नाग पञ्चमी मनाइन्छ । तर नागपञ्चमी श्रावण शुक्ल पञ्चमीको दिनमा नै मनाउन श्रेयस्कर देखिन्छ । यस दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ ।

विभिन्न पुराणहरुमा नागको महत्वको बारेमा बताइएको छ भने शास्त्रको आधारमा नै नागपञ्चमी व्रत मनाइने चलन बसेको देखिन्छ । भविष्योत्तर पुराणमा आजको दिन नागहरुको पूजा गर्नाले अभय मिल्दछ भन्ने कुराको उल्लेख गरिएको छ । वेदमा पनि नागलाई देवताको रुपमा पूजा गर्ने परम्परा रहेको भेटिन्छ । नागलाई पूजा गर्ने वेदका मन्त्रहरु निकै महत्वपूर्ण मानिन्छन्।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ । यसैले काठमाण्डौको पशुपतिनाथ मन्दिरको पूर्वउत्तरको दिशामा वासुकी नागको मन्दिर छ । त्यहाँ पनि नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ ।

नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ । 

नेपाली समाजमा त नागलाई गाईको भन्दा पनि चामल पिनेर बनाएको दूध चढाउने चलन छ । यसैगरी आजको दिन सबैले नागको फोटो भए पनि आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन । त्यसकारण आजको दिन सबैले घरको ढोकामाथि गोबर लगाएर नागको तस्विर टाँस्दछन् ।

यसरी नागपूजा गर्नाले नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ । आजको दिन विशेष गरेर ८ नागको पूजा गरिन्छ । हिन्दु धर्म शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शंख, पद्म र महापद्म गरी आठ नागको महत्व वर्णन गरिएको छ ।

1

Scroll to Top