काठमाडौँ – काठमाडौँको कमलादीबाट बरामद गरेको मध्ये आधा किलो मात्रै सुन सक्कली रहेको प्रहरीले जनाएको छ । १५ किलो मध्ये साढे १४ किलो चाँदीमा बाहिरबाट सुन लेपन गरिएको पाइएको हो ।
आधा किलो सुनको मूल्य (मंगलबारको बजार मूल्य अनुसार) ४२ लाख ९ हजार पाँच सय बराबरको रहेको छ । यस्तै साढे १४ किलो चाँदीको मूल्य १५ लाख ५६ हजार बराबरको रहेको प्रहरीले जनाकारी दिएको हो ।
कमलादी चेकप्वाइन्टमा नजिक तस्करहरु झोला फालेर भागेको हुन् । उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सुनको मूल्य ४२ लाख रुपैयाँ बराबरको र पहेँलो जलप लगाइएको चाँदीको मूल्य १५ लाख रुपैयाँ रहेको एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । एसएसपी ज्ञवालीले भने, ‘कसैलाई थोरै सक्कली सुन देखाएर चाँदीमा जलप लगाई नक्कली सुन बिक्री गरी ठगी गर्न खोजेको देखिन्छ ।’
स्कारपियो गाडीमा रहेको तस्करको समूहलाई प्रहरीले पिछा गर्ने क्रममा नविल बैंक अगाडि आएपछि उक्त झोला फालेर गाडी सुन्धारातिर मोडिएको प्रहरीको दाबी छ । प्रहरीले गाडिको पहिचान भैसकेको भएपनि त्यो अनुसन्धानको क्रममा रहेको बताए ।


