श्रावण १४, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा स्वीकृति प्राप्त नगरेका कम्पनीको शेयरमा लगानी नगर्न निर्देशन दिएको छ । सुचना जारी गर्दै बोर्डले अनुमति प्राप्त नगरेका कम्पनीहरुको निष्काशन तथा योजनाहरुको विज्ञापन तथा सूचना प्रकाशन र सम्प्रेषण नगर्न निर्देशन दिएको हो ।
विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशनजस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन गरेको समाचारप्रति बोर्डको ध्यानकर्षण भएको छ ।
विदेशी कम्पनीहरुले नेपालमा धितोपत्रको निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने व्यावस्था छ ।
त्यस्तै एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र विक्री गर्नुपर्दा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेको बोर्डले बताएको छ । बोर्डको अनुमतिबिना नेपालमा धितोपत्र निष्कासन गर्नु गैर कानुनी हुने र यसले लगानीकर्ताको हित संरक्षण नहुने भन्दै बोर्डबाट स्वीकृत पाएका निष्कासन तथा योजनामा मात्र सहभागी हुन सुझाव समेत दिएको हो ।


