स्मार्ट भिलेजको नामले चिनिएको लकजुङको घलेगाउँ भदौ १ गतेबाट पर्यटकका लागि खुला गरिने भएको छ । लमजुङमा कोरोना संक्रमणको प्रभाव घटेको अवस्थामा घलेगाँउ पर्यटकको लागि खुल्ला गरिएको हो । यस अगाडि कोरोना संक्रमण बढदै जाँदा घलेगाउँमा पर्यटक राख्न प्रतिबन्ध लगाएको थियो ।
त्यसताका कोरोना संक्रमण फैलिन नदिन गाउँ भेलाले होमस्टेमा पर्यटक राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको थियो । सरकारले लकडाउन हटाएको अवस्थामा जिल्लाका पर्यटकलाई घुम्ने अवसर दिइने पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । उनले सामाजिक दुरी कायम गर्दे मास्क, स्यानिटाइजर लगायतका सम्पूर्ण मापदण्ड पुरा गरेर जिल्ला बासीलाई बस्नको लागि होमस्टे खोलेको बताए ।
घलेगाँउमा पर्यटकका लागि कोठाको क्षमता आधा प्रयोग गरिनेछ । साथै, होमस्टे कार्यक्रम सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डभित्र राहेर सञ्चालन हुनेछ । गाउँ आउने पाहुनालाई स्थानीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गराएपछि मात्रै होमस्टे प्रवेश दिइनेछ । कोरोना संक्रमणको लक्षण देखिनेलाई होमस्टे प्रवेश दिइने गाउँको निर्णय भएको पनि घले बताउँछन् । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्का, कृष्णचरित्र, घ्याब्रे लगायत नाच भने तत्काल प्रदर्शन नगरिने भएको छ ।
घलेगाउँमा पर्यटकलाई एक रातको प्याकेज १ हजार रुपैयाँ पर्छ । घलेगाउँबासीले २०५७ बाट घरबास कार्यक्रम सुरु गरेको हाल होमस्टेको संख्या ३७ पु¥याएको छ । घले र गुरुङको बाहुल्य रहेको घलेगाउँमा ९३ घर घले र गुरुङका र ३२ घर विकका गरी १ सय २५ घर छ ।
समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाईको घलेगाउँमा संग्रहालय, चियाबारी, क्व्होइाबो, गोर्खा पार्क, गुरुङको अन्तिम राजा क्लाम्बोरोजाक्लेको शालिक, सातकन्या मन्दिर, कुवा, विभिन्न फाँट, परम्परागत घर, गाउँले परम्परा र जनजीवन देख्न सकिन्छ । घलेगाउँबाट वरपरका गाउँ साथै पश्चिमदेखि पूर्वसम्म दर्जन हिमश्रृंखला देख्न सकिन्छ ।


