Banijya News

कोरोना भाइरस संक्रमणका कारण थप ४ जनाको मृत्यु

1
1.1K Shares

काठमाडौं– कोरोना भाइरस संक्रमणका कारण सोमबार थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँका दुई तथा पर्सा र धनुषमा १÷१ जनाको मृत्यु भएको हो ।


सोमबार मृत्युहुनेमा राजधानीको बानेश्वरमा बस्ने ७६ वर्षीय एक पुरुष छन् । उनको सोमबार विहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो । साउन २३ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा नै मृत्यु भएको हो । उनी मधुमेह, निमोनिया तथा उच्च रक्तचापका विरामी थिए ।


पर्साकी ४५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । उनको आइतबार उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई कोरोना लागेको भने मृत्यु पछि मात्र पुष्टि भएको हो ।


त्यस्तै धनुषामा कोरोना संक्रमणबाट एक निजी सुरक्षाकर्मीको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । मृतक धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का हुन् । विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या देखिएको थियो ।

मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डका अनुसार उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आइरहेका थिए ।
यस्तै काठमाडौँ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको छ । उनी मिर्गौलाका दीर्घरोगी विरामी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

निमोनिया भएपछि उनी असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनमा साउन ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

1

Scroll to Top