बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कामको शिलसिलामा कोरोना संक्रमण भएमा त्यस्को लागि लाग्ने खर्च बैंक तथा वित्तीय संस्थाले नै बोहोर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय सस्थालाई कर्मचारीको खर्च ब्यावस्थापनको कार्य योजना बनाउँन समेत निर्देशन दिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा फैलदै महामारीको रुपमा देखिन थालेपछि विशेष अवस्था आउनसक्ने आकलन सहित राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । साथै, कोरोना संक्रमणको जोखिम बढदै गएमा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउन समेत निर्देशन दिएको छ ।
त्यस्तै, संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटमा क्वारेन्टाइनमा राख्न आवश्यक पर्ने व्यवस्था गर्न र सोको खर्च बैंक तथा वित्तीय संस्थाले नै बोहोर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले विशेष अवस्था आइपर्ने परिस्थितिको आंकलन गरी अत्यावश्यक कार्यको निरन्तरताको लागि बैंकहरूको योजना के छ त्यो खोजेको हो । राष्ट्र बैंकले आइसोलेसन तथा क्वारेनटाइनमा बसेका कर्मचारीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएपश्चात् मात्र कार्यालय आउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ। यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ।
बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको आज जारी विज्ञप्तिमा उल्लेख छ।


