पित्तथैलीमा भएको पत्थरी झिक्न शल्यक्रिया गर्दा चिकित्सकले आन्द्रा काटेपछि एक ३५ वर्षीया महिलाको मृत्यु भएको छ । जनकपुरको नवजीवन हस्पिटलको लापरवाहीले जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाण टोलकी ३५ वर्षीया रुकमणीदेवी सदाको मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।
पेट फुल्ने, दुख्ने समस्या भएपछि २५ साउनमा उनी जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलमा भर्ना भएकी थिइन् । उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि बुधबार अस्पतालले पेटको शल्यक्रिया गरेको थियो । शल्यक्रियाको एकदिनपछि बिहीबार उनको मृत्यु भएको हो ।
अस्पतालकै लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अस्पतालमा तोडफोडको प्रयाससमेत गरेका छन् । अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै अनुभवी र बरिष्ट सर्जन मार्फत नै शल्यक्रिया गरिएको जनाएको छ ।
दुबै पक्षबीच विवाद बढदै जाँदा स्थित नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा मृतकका छोरा रमानन्द शर्मासहित आधादर्जन व्यक्ति घाइते भएका छन् । न्याय माग्दा बिरामीका आफन्तमाथि प्रहरीले उल्टै अन्याय गरको स्थानीय लभ यादवले गुनासो गरे ।
उपचार गर्न नसक्ने अस्पतालले पैसाको लागि बिरामी भर्ना गरेर लापरवाही गरी ज्यान लिएको आरोप मृतकका आफन्तको छ । बिरामीको मृत्यु भएपछि आफन्तले दोषीमाथि कारबाही र क्षतिपुर्तिको माग गरेका छन् ।


