अर्थमन्त्री युवराज खतिवडा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रका प्रतिनिधी विच कोरोना संक्रमण र त्यस्ले पार्ने प्रभाव बारेमा छलफल भएको छ । अर्थमन्त्री डा. खतिवडा र विश्व बैंकका दक्षिण एसिया क्षेत्र उपाध्यक्ष हार्टविग सेफरबीच छलफल भएको हो । शुक्रबार मन्त्री खतिवडा र उपाध्यक्ष सेफरबीच भर्चुअल छलफलमा कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभावका विषयमा छलफल भएको हो । अर्थमन्त्रीले विश्व बैंकवाट स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरे । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताए ।
वित्तीय दबाबका बावजुद विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको उनले बताए । विषम् परिस्थितिमा पनि विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्विपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सोका लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको उनले बताए ।
अर्थमन्त्री डा. खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे । उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति छ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको दुई प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए ।
स्वास्थ्य र आर्थिक पुनरुत्थान सँगसँगै लैजानुपर्नेमा जोड दिँदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पु¥याएको र नीतिगत सुधारमा समेत विश्व बैंकको अनुभव र ज्ञान लाभदायी भएको बताए । उनले विश्व बैंकसँग हालै सम्झौता भएको रणनीतिक सडक आयोजना हालसम्मकै ठूलो एकल आयोजना रहेको र गत वर्ष सोलगायत अन्य महत्त्वपूर्ण आयोजना सम्झौता भई करिब एक अर्ब डलर थप प्रतिबद्धता प्राप्त भएको बताए ।
विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुका साथै दक्षिण एसियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकामा प्रशंसा गरेको मन्त्रालयले जनाएको छ ।
बैंकका उपाध्यक्षले नेपालजस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक स्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा स्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा ब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सक्रियतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको बताए ।
अर्थमन्त्रीले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकामा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोग अनुरोध गरे ।
उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव कृष्ण नेपालको समेत उपस्थिति थियो ।


